माया

तिमी निर्जीव वस्तुलाई माया गर्न
किन डराउँछौ ?

महिनौं कोठाको कुनामा हराएको
क्यारमको स्ट्राइकर भेटिँदाको खुशी सम्झिन्छौ?

चप्पल साटिएर खोज्दा खोज्दा
भेटाएर लगाउँदाको पैतलाको न्यानोपनले दिने राहत सम्झिन्छौ?

हप्तौँ पछि घर फर्किँदा फेरी आफ्नै खाटमा
सुस्ताउँदा ओछ्यानको स्पर्शले दिने आनन्द सम्झिन्छौ?

आफ्नै भान्साको स्टीलको थालमा घरको खाना
मुछेर खाँदाको सन्तुष्टि सम्झिन्छौ?

सजीव मान्छेहरुमा के माया खोज्छौ तिमी?
उनिहरू त जवाफ फर्काउछन् ,
प्रश्न  सोध्छन्,
रिस देखाउछन्,
घृणा पाल्छन्।

निर्जीव बस्तुहरुबाट
न तिमी अपेक्षा राख्छौ,
न उनीहरु राख्छन्,
एकोहोरो माया भए पनि तिम्रो हृदयलाई प्रफुल्ल बनाउँछन्।

न साथ छोड्छन्,
न टाढिन्छन्
पिडा दिने सजीव प्राणीहरुसँग
सम्बन्ध गाढा बनाउछौ,
अथाह माया थोपर्न मिल्ने
निर्जीव वस्तुहरूलाई किन टाढा बनाउँछौ?

तिमी निर्जीव बस्तुलाई माया गर्न
किन डराउँछौ ?

Comments

Post a Comment