तस्वीर



सिशाको फ्रेममा
ल्यापटप को स्क्रीनमा
स्मार्टफोन को भित्तामा
अटाउने
हाँसोले रंगिएको
तिम्रो तस्वीर

बेचैनीले धुम्म परेको
मनलाई थाम्न
बर्षाको कुनै एउटा मध्यान्नमा
झरीको आवाजले मनभित्रको कोलाहललाई
ओछ्यानमा सिरकले गुम्स्याएर
"म्युट" गराउन संघर्षरत मेरो भौतिक शरीर 
मेरो "टिपिकल" तन्नेरी विलाप
अनि मेरो "परिचित" मिड ट्वेन्टीज़ "फ़्रस्ट्रेशन" 
यी र यी सबैलाई
पल भर मै साम्य पार्न सक्ने
कति चलाख ,कति अद्भुत
हाँसोले रंगिएको
तिम्रो तस्वीर

मेरो अहोभाग्य र दैवीय हस्तक्षेपको
सम्मिश्रणले
मेरो उदास हृदयमा
अचानक हर्षको बहाव गराउने
आक्रोष र सनकमा रुमल्लिएको
विक्षुब्ध म, अनि मेरो मनमा,
स्वतःस्फूर्त रौनक छर्केर
मेरो ओठमा निर्दोष मुस्कानको
शृंखला प्रारम्भ गरिदिने,
हाँसोले रंगिएको
तिम्रो तस्वीर 

आहा !
शब्दले समेट्न नमिल्ने
अभिव्यक्तिले बुझाउन नसकिने
तिम्रो मुहार
अनि
हाँसोले रंगिएको
तिम्रो तस्वीर !

Comments