सालका पातहरु

तिमीहरु,

खोटो कर्मले 
पाखा लागेका,
पन्छिएका,
उपेक्षित ,
सालका पातहरु
एउटै हाँगामा हुर्केका
एकैनास विपत सहेका
ऋतुहरुको चक्र संगै घुमेका 
तर भाग्यले बिभाजित

कोही हरिया पातहरु
तरुनी का
कोमल हात ले टिपिएर
कतै यज्ञमा घ्युको सुगन्धले
नुहाउँदै छन्
कोहि पुण्य कमाउने
पिण्ड बोकेर गंगामा
रम्दै बगिरहेछन्
कोहि निधार रंग्याउने
अक्षताको आश्रय बनेर
करोडौं रंगीन सपना
बोकेका आत्माहरुलाई
सहारा दिंदैछन्
आफ्नो अहोभाग्यप्रति
कृतज्ञ
हरिया,
हँसिला,
प्रफुल्ल,
सालका
सुखी पातहरु  


तिमीहरु

वनको कुनै
अँध्यारो कुनामा
हराएका,
गुम्सिएका,
थुनिएका,
पुरिएका,
छरिएका,
कतै बटुवाले हिंड्ने
सुनसान गोरेटोहरुमा
उसको गोडाले किचिएर
आवाज निकाल्छौ
त्यो आवाज
वनमा
केहि पलको लागि
गुन्जिन्छ,
अनि हराएर जान्छ
तिमीहरुको अस्तित्व जस्तै।
बिडम्बना को शिखर हेर
तिमीहरु मध्ये कोहि त 
पतकर सोर्नेहरुबाट समेत 
उपेक्षित छौ 
उनीहरु देखेको नदेखै गर्छन्
तिमीहरुलाई

तिरस्कृत,
तिमीहरु
कहिलेकाहिँ
प्रकृतिको घृणाको
बिषय बन्छौ
हुरीमा पनि उड़दैनौ
डढेलो छल्छौ,
छिमेकमा अंगार बल्छ
आगोको  रापले
सारा जंगल उजडिंदा
तिमीहरु दर्शक बनेर बस्छौ,
बस्न बाध्य हुन्छौ  
त्यसलाई
सौभाग्य सम्झेर
हर्षित हुन्छौ।
प्रकृतिको चक्र भित्र
अट्न नसक्ने
शृष्टिको परिधि भित्र
समाहित हुन नसक्ने
तिमीहरु
अबहेलनाका ताबिज़ हौ 

वनको कुनै
अँध्यारो कुनामा
हराएका,
गुम्सिएका,
थुनिएका,
पुरिएका,
छरिएका,
निर्वात आकारहरु

धिक्कार छ,
तिमिहरुको
अस्तित्वलाई

Comments