एउटा पिपलको बोटमुनि मैले जे देखें


 

लट्ठिएका आँखा,
सिँगाने नाक लिएर
ऊ आउँछ

मुसुक्क हाँस्दै ,
मस्किँदै,
बदाम छोडाउँदै,
उनीहरु 
गफमा भुल्दैछन्
बडो मिहिनेतले जुराएको
भेट,
अनि
अति आनन्ददायी साथ।
रम्दै हुन्छन्
बिचराहरु
कल्पिंदै,
शायद एकअर्कामा
सम्मोहित हुँदै,
अनि
समय त्यहिँ अडियोस्
भन्ने चाहँदै,
मन्द लाजमा डुबेका, 
जोडी

अकस्मात
एउटा सानो हात,
टुप्लुक्क देखापर्छ
उनीहरुको एकाग्रता
भंग गर्दै
लट्ठिएका आँखा र
भताभुङ्ग कपाल। 
निर्दोष लवजमा
बोल्छ
" दाइ पाँच रुप्या दिनु न "
अनि दोहोर्याउँछ
अनि फेरि दोहोर्याउँछ
हैरान केटो
झर्किन्छ, झपार्छ, घपाउन खोज्छ
धकेल्छ पनि 
बटुवाहरु
"जज्मेण्टल" आँखाले हेर्छन
" जाबो पाँच रुप्याको लागि नि के नाटक होला  "
एउटा प्याच्च बोल्छ
सिँगान पुछ्दै,
नयाँ आत्मविश्वासका साथ 
फुच्चे फेरी भट्टयाउँछ
" दाइ पाँच रुप्या दिनु न "
अनि दोहोर्याउँछ
अनि फेरि दोहोर्याउँछ

दिक्क केटो,
बेवास्ताले टार्न खोज्छ
अनि टर्छ पनि
झोंकिएको फुच्चे
मैयाँको गोडा समात्न पुग्छ
अनि उनको पैतालामा
निधार रगड्छ
लाजले भुतुक्कै हुँदै 
उनी,
हत्तपत्त ब्यागबाट १० को नोट निकालेर
त्यसको हातमा दिन्छिन्
अभद्र मुस्कान दिंदै,

अन्यत्र लाग्छ

एउटा राहतको लहरले
दुबैलाई छुन्छ
मन्द मुस्कानले
केहि बेर अघि गुमाएको
एकान्तलाई
फेरी स्वागत गर्छन्
उनीहरु
अनि फेरी रमाउन खोज्छन्
नयाँ उर्जाले,
नयाँ उत्साहमा 
बग्न खोज्छन्

यत्तिकैमा
फेरी अर्को
ध्वनि गुञ्जिन्छ । 
त्यहि भाषा,
तर लवज अर्को ।
त्यहि वाक्यांश, 
तर बोली अर्को ।
अर्को "भुन्टे" आउँछ । 
मैयाँ तिर,
घबराहट को तीर छोड्छ
" दिदी  पाँच रूप्या दिनु न "
उनी,
आतंकित हुन्छिन्
आजित,
थकित,
ठिटो
निराश हुँदै,
दिक्क मान्दै,
अर्को नोट निकाल्छ
अनि "प्राइवेसि" को लागि
फेरि 
राजस्व तिर्छ ।

Comments

Post a Comment