कालो पाटी टल्किन्छ


मेरो अगाडी कालो पाटी
अनि
हातमा सेतो चक 
म लेख्छु ,
अनि मेट्छु
दोहोर्याईरहन्छु

हरेक मेटाई संगै 
हरेक पुछाई संगै
चकको केही अवशेष बाँकी रहन्छ
अनि त्यो पाटी सेताम्मे हुँदै जान्छ
कुनै दिन
त्यो पाटी कालो नै नरहला
सेतो चकले लेख्न खोज्दा
कुनै अक्षर नाचिनिएला 
तर म लेख्न छोड्दिन
लेखिरहन्छु

अलिकति उडेको
अलिकति पुछिएर हराएको
धुलोलाई बेवास्ता गर्छु,
पाटीमा बाँकी अंशलाई
संगाल्ने धुनमा
साँच्ने आस मा

मेरा आँखाहरु
चकमा मित्रता,
अनि सम्बन्धहरु देख्छन्
जसको ठूला अंशहरु
कि धूलो बनेर उडे   
कि पुछिएर गए 
तर अहिले पनि 
बाँकी छन्,
कणहरु  
त्यै पाटीमा संचित
मैले बुनेका
लगावका अवशेषहरु
कैयौं चकहरु
नाशिएर गए,
हराए,
बिलाए
तर ऐलेपनि
त्यो सेताम्मे पाटी
मेरा स्मृतिहरुको प्रतिबिम्बले
टल्किन्छ,
टल्किरहन्छ ।

Comments