आवरण



सर्वनाम संगको मेरो टकराव
कहिलेकाहिँ,
वास्तविकता संग जुध्ने
एउटा अनावश्यक प्रयास जस्तो लाग्छ !
म, तिमी, हामी, उ ,अनि  उनी 
यी सब भ्रामकताका फगत संवाहक
जस्तो लाग्छ !
जे छ,
नाम मै छ
यी सर्वनाम त आखिर
प्रत्यक्षता बाट भगाउने
जस्केला न हुन् जस्तो लाग्छ  !
कहिले हिच्किच्याहट, कहिले भय
कहिले लाज अनि कहिले असुरक्षा
नाम भित्र सिंचित
यी मौलिक अनुभवहरुको कोलाहलबाट भाग्न
आफैंले खनेको 
एउटा सफा चौडा सडकजस्तो लाग्छ !   
परिचयसँग विस्मरण राखेर
बहानाहरुसँग निकट लैजाने
यी सर्वनामहरु
खोक्रो सहजतालाई प्रेरणा दिने
दलालहरु जस्तो लाग्छ
 
रचनात्मक विशेषणहरु प्रतिको
मेरो मोह,
घरिघरि
मिथ्या लाग्छ
मूल्यहीन वाक्यांशहरु 
यत्रतत्र दोहोरिएको देख्दा
सस्तो प्रसंशामा खर्चिएको देख्दा
व्यङ्ग्यको चास्नीमा डुबाईएको
अनि सनकको सुगन्ध छरिएको देख्दा
सुन्दरता बाट लालित्य खोसिएको 
अनि कुरूपतालाई
झन् भयावह बनाइएको देख्दा
सरलताको प्रसंशा गर्दा
म नीरस कहलिन्छु
तर अतिरंजनको सराहना गर्दा
प्रतिध्वनि सहितको महिमा सुन्छु
दिक्क छु म आफ्नो विचारको सान्दर्भिकता
माग को इकाईमा नापिएको देख्दा


Comments