' म्युरिका



टेक्सस को मरुभूमिमा
कहिलेकाहिँ
क्याक्टस को बुटो देख्दा
उ आफ्नो "शेव्रोले" बाट उत्रेर
एकछिन्
आफ्नी आमाले गमलामा रोपेको
बिरुवा सम्झिँदो हो !
काँडाले आफ्नो औंलामा
जानीजानी घोंचेर
पीडाको सहायताले
आफ्नो बाल्यकालमा पुग्दो हो!
कहिलेकाहिँ
जी.पी.एस ले देखा'को
बाटो पक्रेर हिंड्दा
साइकलमा बाटो बिरा'को
झल्झली सम्झिँदो हो  !

उसले रोजेको बाटो
दुतावासको छाप देखि बन्न सुरु भयो
सोझो समथल बाटो देखेर पहिले 
असिमित गतिमा हिंड्न थाल्यो
तर अहिले त्यै बाटोमा ऊ
मोडको अभावले निराश छ
इन्धनको हरेक भराईमा ऊ
अलिकति असुरक्षाका थोपाहरु मिसाउन बाध्य छ
उसले बुझेको छ,
घरको मायासँग
ग्रीन कार्डको दम्भ
सधैँ हार्छ, हारिरहन्छ 
साट्न मिल्दो हो त
जेट्ल्यागसंग बरु
घरमा हुँदाको
बेचैनी साट्दो हो

नगद र शेषको महत्व उसलाई
त्यहाँ अति सुक्ष्म लाग्छ।
शायद    
"हन्ड्रेड डलर बिल" भन्दा,
अक्षताको रङ्ग लागेको
हरियो गैंडाले  नै
उसलाई बढी खुसी दिँदो हो!
डलरको बासना सुँघ्न
उसको मनले कहिल्यै खोजेन
शायद
स्मृतिमा कतै बाँकी रहेको
राष्ट्र बैंकको नयाँ नोटको सुगन्धलेनै 
उसको मन अझै झुलाउँदो हो ! 
आँखाले चिल्लो बाटो
अनि गगनचुम्बी घरहरुको आकृति
दिमागमा कोर्न खोजेपनि
स्मृतिमा हिलो, धुलो र माटो
अनि तिनकै सम्झना बस्दो हो !

साथीभाईसँग बस्दा
दुई-तिन्टा ओँठले पालैपालो तानेको
सुर्य रेडको सर्कोको मीठो धुँवा 
जसमा निकोटिनमोनोक्साइडका अलावा
आत्मियता र सान्त्वना पनि हुन्थ्यो,
बिचरो एउटा सिङ्गो मार्लबोरोले
ती सब कसरी फ्याल्न सकोस् !
खुशीको सबैभन्दा ठुलो स्रोत
यादहरु नै भएपछि,
वास्तविकता भन्दा गहिरो प्रभाव
सम्झनाले पार्न सक्ने भएपछि
ओंठ अंग्रेजीमा हाँसेपनि
मन त नेपालीमै रुँदो हो !



Comments

  1. Wow! Simple, flawless and superb!

    ReplyDelete
  2. "आँखाले चिल्लो बाटो
    अनि गगनचुम्बी घरहरुको आकृति
    दिमागमा कोर्न खोजेपनि
    स्मृतिमा हिलो, धुलो र माटो
    अनि तिनकै सम्झना बस्दो हो !"

    hai...subconscious mind ko image ta tei nai hunchha hola..

    ReplyDelete

Post a Comment