एकालाप (पहिचान सँगको द्वन्द)

मैले गर्ने
मेरा विषमताहरुको  विवेचना,
मेरो आन्तरिक द्वन्दको  
व्याख्या,
सटिकभन्दा बढि
भ्रामक छन्
पूर्णताभन्दा अभावसंग
अझ प्रगाढ मित्रता राख्छन्
प्रभावहरु अझ प्रभावहीन,
अनि
शंकाहरु अझ अस्पष्ट

प्रतिक्रियाको अभावमा अल्झेको, 
अनि
उदासीनताले जरा गाडेको हृदयमाथि
निर्भर हुन सिकेको शरीरलाई
स्वच्छ उत्साहको तरंगले
के चलाउँथ्यो  र !

बितृष्णाको चिसो
नसामा गढ़ेपछी
बाक्ला ऊनका रेशाहरुले
सँगालेको तापले
न्यानोपनको आभास 
के गराउँथ्यो र !

आंशिक प्रतिक्षा, 
अनि 
अविच्छिन्न निराशाले सम्मोहित 
अस्थिर मस्तिष्कलाई
दुई सर्को निकोटिनले
के सम्हाल्थ्यो र !

परिष्कृत इथानोलका
आकर्षक बोतलहरु,
अनि
तिनीहरु भित्र संचित
अस्थिर नशाको उत्तेजनाले
विक्षुब्ध आत्मालाई
के झुल्याऊँथ्यो र !

Comments