तिमी...अनि म?

तिमी हाँस्यौ ,अनि म हाँसें
एक्कासी तिम्ले बोल्यौ,
"यसमा हाँसउठ्दो के छ?"
म चुप।

तिमी जिस्कियौ ,म पनि जिस्किएं
तिम्ले फेरी बोल्यौ,
"कस्तो केटाकेटी पारा "
म फेरी चुप।

तिमी सल्केको कपुर
म एक त्यान्द्रो परालको आगो 
तिम्रो आभा आरतीको सुगन्ध
मेरो धुवाँ मिश्रित राप
तिमी शालीनताको चित्रण 
अनि म,
अतिरंजनको उदाहरण

अस्ताउँदो सूर्यले आकाशमा पोतेको
रङ्गको वर्णन,
तिमीले गर्दा भव्य रचनात्मकता
मैले गर्दा पागलपन
वार्तालापको बीचमा,
स्वभाविक प्रतिक्रिया
तिम्ले दिँदा व्यंग्य,
मैले दिँदा सनक

तिम्रो गुनासो एकोहोरो सुनें
" धैर्य " भन्दै मुस्कुरायौ
मेरो बोल्ने पालो
दुई तीन वाक्यहरुपछिको
तिम्रो प्रतिक्रिया
"कत्रो गनगन!"
वाल्ल पर्दै,
निरास हुँदै, 
म फेरी चुप।

Comments