औंसी

तिमी,
औंसी
तिम्रो प्रस्तुति ले भन्दा
अस्तित्वले मात्र पनि बढी अर्थ राख्छ

अभिव्यक्ति को अभाव मै त
तिम्रो सुन्दरता लुकेको छ
अदृश्य भएरै त
तिम्रो अस्तित्व जीवन्त छ

अनुपस्थितिमा पनि
आफ्नो सद्गुण महसुस गराउन सक्नु
तिम्रो क्षमता हो
आकर्षणसंग परहेज राखेर पनि
मोहित पारिरहन सक्नु
तिम्रो विशेषता हो

बहलाउनु,
तिम्रो खेल होइन
रिझाउनु,
तिम्रो गुण होइन
तर कालो आकाशप्रतिको तिम्रो भतिभाव
पवित्र छ
सरलता संगको तिम्रो मिश्रण
रमणीय छ

तिमी आदि हौ,
नयाँ चक्रको एउटा शुरुवात
तिमी विश्वास हौ,
अथक प्रयास प्रतिको एउटा निष्ठा

तिमी इमान्दार छौ,
अनि मर्यादित पनि
एकान्त सँगको तिम्रो लगावले,
रुष्टता निम्त्याउँदो हो
तर अनभिज्ञता प्रतिको समर्पणमै त
तिम्रो नम्रता लुकेको छ

तिमी औंसी हौ

तिमी अँधेरा रातहरूमा शितलता छर्छौ
अनि ती तीव्र प्रकाशका किरणहरु सोसेर
कालो रातको प्रगाढता लाई
झन् पोषण दिन्छौ
सुर्य को प्रकाशलाई अनुकरण गरेर
रातलाई प्रज्ज्वलित गरेको भ्रम दिएर
आफुलाई हर्षको सम्वाहक
अनि प्रफुल्लता को माध्यम बनाएर
मिथ्या छाप छोड्न खोज्ने
तिमी पुर्णिमा होइनौ 

Comments

  1. Romantic! that's the word! be that 9 pointer, you deserve it! :)

    ReplyDelete

Post a Comment