भ्रम

तिम्रो प्रस्तुतिको भाव
अनि मेरो बुझाई
विषमता का उदाहरण

तिमीलाई सिम्रिक मनपर्दो हो,मैले रातो ठानेछु
तिमीलाई बतास मनपर्दो हो, मैले हुरी ठानेछु
तिम्रो अभिव्यक्ति,
व्यंग्यात्मक हाँसो हुँदो हो
मैले प्रफुल्ल मनको प्रतिक्रिया ठानेछु

तिम्रो प्रतिवादलाई
लजालु स्वभाव, अनि
सौम्य संकोचको उपज,
स्नेहपूर्ण असहमति ठानेछु
तिम्रो तिक्ततालाई मिठास 
अनि कठोरतालाई नम्रता ठानेछु 

सन्देह मेरो आत्मा मा छैन
त्यसैले होला
तिम्रो अनभिज्ञतालाई करुणा ठानेछु 

आत्मियता,
यस्तो लाग्थ्यो ,
म पोख्थें ,तिमी बुझथ्यौ
अनि त्यसको केही अंश
परावर्तित गर्थ्यौ,
म तिर !

यस्तो लाग्थ्यो,  
म बोल्थें, तिमी सुन्थ्यौ
मेरो भित्री कोलाहल,
मस्तिस्कको अस्थिरता
हर्षविभोर हुँदै,
जुन ओकल्थें म
आवाजको सहायताले!

तर बिडम्बना,
फगत औपचारिकता लाई
दुई हृदय बीचको संचार ठानेछु

आफ्नै प्रतिध्वनिले चर्किएको 
संक्षिप्त एकालापलाई,
लामो जीवन्त संवाद ठानेछु

Comments