मौनता

मौनता पनि एउटा भाषा नहुँदो हो त
केहि नबोली विचार साट्न नमिल्दो हो त
आँखाले बोल्ने कति भावहरु,
कहिले स्पष्ट हुँदैनथे होलान्
कति वाक्यहरु नपढिएकै हुन्थे होलान्  
बाध्यतामा,
कति चोटी भन्न नचाहेका कुरा पनि भनिन्थे होलान्
बंग्याएर,खुम्च्याएर,लुकाएर
मौनता अर्थहीन हुँदा बाध्य भएर बोल्नुपर्ने कुराहरु
कति कुराहरु ,
जो ध्वनिहीन बुझाईमै बढी महत्व राख्छन्
जो मौनताकै भाषामा चर्का सुनिन्छन्
ती कहिले व्यक्त हुँदैनथे होलान्
आँखा ले कुरा गर्न नमिल्ने भए
कति इच्छाहरु सधैँ अधुरै रहन्थे होलान्
अनि कति भावनाहरु अपूरै,
जुन बुझाउनेले आँखाले मात्रै बुझाउन सक्छ
र बुझ्नेले हेरेर मात्रै बुझ्न सक्छ
सुनाउँदा पनि नबुझिने कति कुराहरु
बोलीले झन् बल्झाइदिने कति कुराहरु  
आँखाले बुझाउँदा नबुझिने त
आखिर के नै हुन्छ र ?
बिडम्बना,
ध्वनिको साथ हुँदाहुँदै पनि
कहिलेकाहिँ हामी लाटा हुन पुग्छौँ,
मौनता बोल्न नजान्नाले !
अनि बाहिरा पनि ,
मौनता सुन्न नजान्नाले !

Comments